मुस्ताङमा दसैपछि आन्तरिक पर्यटकको लर्को

जोमसोम—धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दसै पर्व सकिएसंगै पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । दसै पर्वमा मान्यजनबााट टीका थाप्ने कार्यक्रम  सकिएलगत्तै आईतबारदेखि मुस्ताङमा पर्यटकीय गतिविधि अप्रत्याशित रुपमा वृद्धि भएको पाईएको छ ।

 बडा दसैको  पछिल्लोदिन आईतबारदेखि मुस्ताङमा स्वदेशी तथा आन्तरिक पर्यटकको लर्को लागेको   जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दशै पर्व अवधिमा  सरकारी कार्यालय,निजी संघसंस्था, बैंक तथा वित्तिय संस्था ,स्कुल कलेज र विदेशबाट दसै पर्व मनाउन घर फर्किएकाहरुलाई लामो बिदा हुने भएकाले मुस्ताङमा पर्यटकीय चहलपहल बढेको हो । यस अवधिमा  युवायुवतीहरुमा मुस्ताङ घुम्ने क्रेज बढेको हो । दसै पर्वको पछिल्लो २ दिनमा म्याग्दी र मुस्ताङको सिमाना घाँसा हुँदै कुल ५ हजार ८९८ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार विजया दशमीको घटनास्थापनादेखि सोमबारसम्ममा कुल  १५ हजार ५४४ जना पर्यटक सडकमार्ग हुदै मुस्ताङ भित्रिएको प्रहरी नायव उपरीक्षक बोगटीले बताए । घटनास्थापनादेखि पछिल्लो १२ दिनको अवधिमा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएकोमा दैनिक औसत तुलना गर्दा करिव १९ प्रतिशतको हाराहारीमा मुस्ताङमा पर्यटकको आगमन वृद्धि भएको हो ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार  मुस्ताङमा दसैपछिको २ दिनको अवधिमा  ५ हजार ३२७ जना आन्तरिक र  ५७१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन । त्यसो त घटनास्थापनादेखिको तथ्यांक हेर्दा मुस्ताङमा  १२ हजार ४९२ जना आन्तरिक र  ३ हजार ५२ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

 यसअघि बडा दसै पर्व अघिको सोह्र श्राद्ध तिथीमा २० हजार ४४६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । सोह्र श्राद्धको १६ दिनको अवधिमा कुल संख्याको १४ हजार ८५० जना आन्तरिक र ५ हजार ५९६ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका घाँसा प्रहरी चौकीको रेकर्डमा उल्लेख छ । मुस्ताङमा हवाई पोखरा जोमसोम हवाई सेवा मार्फत पनि पर्यटक मुस्ताङ आउने गरेको भएपनि उनीहरुको रेकर्ड यसमा उल्लेख छैन । सेप्टेम्बर अन्तिमदेखि मुस्ताङमा हवाई सेवा मार्फत पनि उल्लेख विदेशी पर्यटकको मुस्ताङ आगमन बढेको छ ।

 दसै पर्वको फुर्सदिलो बिदाको समयलाई सदुपयोग गर्दै मुस्ताङ घुम्ने युवापंक्तीको संख्या अपेक्षाकृत वृद्धि भईरहेको जोमसोमका पर्यटन व्यवसायीहरुको भनाई छ । बेनी—जोमसोम सडकमार्ग हुदै निजी,हरियो र सार्वजनिक सवारी साधन मार्फत पर्यटक मुस्ताङ भित्रिएका हुन् । कतिपय युवायुवतीहरु दसैपछि  मोटरसाईकल चढेर मुस्ताङ घुम्न आएको होटल मेजस्टीका प्रोपाईटर निसान तुलाचनले जानकारी दिए । दसैपर्वपछि मुस्ताङ भ्रमण गर्नेमा अधिकाँश पर्यटक युवापुस्ताका पर्यटक रहेको पर्यटन व्यवसायी तुलाचनले उल्लेख गरे ।

 मुस्ताङ भ्रमण गर्ने अनुकुल समय र सडक संञ्जाल सहज भईसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो । पर्यटन व्यवसायीहरुका अनुसार दसैपछि छठ पर्वको अन्तिमसम्म  युवापुस्ताहरु मुस्ताङ घुम्न आउने बताईएको छ । मुस्ताङको पृथक भूगोल ,धार्मिक ,ऐतिहाँसिक र सांस्कृतिक एवं जिवन्त मौलिकता भएकै कारण यसस्थानमा आन्तरिक तथा बाह्य पर्यटकको क्रेज बढ्दो छ । पछिल्लो समय अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले मुस्ताङलाई घुम्नैपर्ने पर्यटकीय सूचिमा सुचिकृत गरेसंगै मुस्ताङ जिल्लाको क्रेज बढेको हो ।

  मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरुले सडक सहज भएसंगै चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् । विदेश पर्यटक भने छोसेरको नेचुङसम्म पुग्छन् । कोरलानाका ,छोसेर गुफा,लोमान्थाङ दरबार, लोघेकर गुम्बा,मुक्तिनाथ,कागबेनी ,ढुम्बाताल लगायत विभिन्न पर्यटकीय गन्तब्यहरु मुस्ताङमा अवस्थित रहेकाले मुस्ताङमा पर्यटकहरुको क्रेज मुस्ताङमा बढेको हो । राष्ट्रिय गौरवको सडक अन्तर्गत मुस्ताङमा एक तिहाई सडक कालोपत्रे भईसकेकाले पनि मुस्ताङ यात्रा पर्यटकका लागि सहज बनेको छ । 

 औसत बर्सेनि ५ लाख भन्दा बढी आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्छन।यस्तै बर्सेनि १ लाख २० हजार भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । मुस्ताङ भ्रमण गर्ने अघिकांश पर्यटकहरु मुक्तिनाथको दर्शन गरी फर्किन्छन् । युवापंक्ती पर्यटक भने मुस्ताङको विभिन्न पर्यटकीय गन्तब्यहरु अवलोकन गर्न रुचाउँछन् ।

Hotel Jomsom Pride visit mustang

यसवर्ष मुस्ताङबाट ८३ करोडको स्याउ निकासी

जोमसोम— हिमाली जिल्ला  मुस्ताङमा स्याउ निकासीबाट यसवर्ष ८३ करोडको भित्रिएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यसवर्ष करिव ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा उक्त रकम भित्रिएको हो ।

कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउको पोस्ट हाभेस्ट गर्नुअघि किसानको बगैचामा पुगेर उत्पादन सर्वे गर्ने गर्छ । केन्द्रले जिल्लाका किसानको बगैचामा पुगेर क्रप कटिङ, स्याउको क्षेत्रफल र स्थानीय किसानसंग प्रत्यक्ष सोधपुछ गरी बर्सेनि स्याउ उत्पादनको तथ्यांक निकाल्ने गर्छ । केन्द्रको प्रारम्भिक अनुमान अनुसार यसवर्ष स्याउ उत्पादन राम्रो भएकाले अहिलेसम्मकै ठुलो रकम स्याउ बिक्री निकासीबाट जिल्ला भित्रिएको जनाएको छ ।

यसवर्ष स्थानीय जातका ६ हजार ८० मेट्रिक टन स्याउ उत्पादन भएको हो । यस्तै,ईटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिमा आधारित स्याउ (हाईब्रिड) १ हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको हो । स्थानीय जातका स्याउ प्रतिकेजी ११० रुपैया र हाईब्रिट स्याउ प्रतिकेजी २ सय रुपैयामा निकासी हुँदा मुस्ताङमा ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले बताए ।‘स्याउको अझै पुरै डेटा आईसकेको छैन, स्याउ हार्भेस्ट अन्तिम चरणमा छ,कार्यालय प्रमुख गुरुङले भने,‘ तैपनी हामीले संम्वन्धित किसानको बगैचामा क्षेत्रफल र क्रप कटिङ गरी प्रारम्भिक तथ्यांक निकालेका हौं, यो वर्ष स्याउ उत्पादन अपेक्षाकृत राम्रो भएको देखियो ।’

 यसवर्ष स्याउ उत्पादन अहिलेसम्मकै उच्च हो ।स्याउको फूल फूल्ने समयमा अनुकुलल मौसमसंगै स्याउमा परागसेचन (पोलिनेशन) राम्रो भएकाले यसवर्ष स्याउ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाई छ । त्यसो त यसवर्ष मुस्ताङका स्याउ किसानको बगैचामा विभिन्न रोगकिराको संक्रमण देखिएको भएपनि केन्द्र, कृषि प्राविधिक र स्थानीय किसानको पहलमा छिटोछरितो नियन्त्रणमा लिन सकेकै कारण स्याउ उत्पादनमा असर नपुगेको हो ।

 गतवर्ष मुस्ताङमा स्याउ बोटमा प्रतिकुल मौसमका कारण परागसेचन हुन नपाउँदा स्याउ उत्पादन घटेको थियो । त्यसवर्ष मुस्ताङमा ४ हजार ९८५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । केन्द्रका अनुसार जलवायु परिवर्तनको असरका कारण मौसम प्रतिकुल हुँदा स्याउ उत्पादनमा प्रत्यक्ष असर पुगेको थियो । गतवर्षको तुलनामा यसवर्ष २ हजार ३५५ मेट्रिक टन स्याउ बढी उत्पादन भएको हो ।पोहोर वर्ष भने मुस्ताङमा ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्रको रेकर्डमा उल्लेख छ । पोहोरकै तुलना गर्दा पनि यसवर्ष ७३४ मेट्रिक टन स्याउ बढी फलेको केन्द्रको भनाई छ । त्यसवर्ष मुस्ताङबाट ५१ करोड ३७ लाख बराबरको स्याउ निकासी भएको थियो । गतवर्ष औसत ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएको थियो । गतवर्षको निकासा तथ्यांक हेर्दा यसवर्ष करिव ३० करोडको स्याउ बढी उत्पादन भएको बताईएको छ ।

मुस्ताङमा १ हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भईसकेको छ । जसमध्ये ५८५ हेक्टर जमिनमा लगाईएको स्याउ बोटले मात्रै उत्पादन दिने गरेको केन्द्र प्रमुख राजेश गुरुङले बताए । पछिल्लो समय स्याउको क्षेत्रफल विस्तार र उच्चघनत्व प्रविधिको (हाईब्रिड) स्याउ लगाईएकाले स्याउ उत्पादन वृद्धि भएको केन्द्रको बुझाई छ । मुस्ताङमा ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ । हाईब्रिड स्याउ बोटले लगाएको दोस्रो वर्षमै छिटोछरितो स्याउ उत्पादन तथा गुणस्तर राम्रो र थोरै क्षेत्रफलमा धेरै उत्पादन हुने भएकाले यहाँका किसानहरुको ध्यान हाईब्रिड स्याउतर्फ गएको हो । 

 मुस्ताङका किसानले परम्पराग स्थानीय उन्नत जातका रेड डेलिसियस,रोयल डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियसका स्याउ खेती गरेका छन् । उच्चघनत्वको हाईब्रिडतर्फ गाला,फुजी, गोल्डेन,किङरोट, रेड डेलिसियस र जोनाप्रिन्स लगायतका जातका स्याउ खेती गरेका छन् ।

स्याउको उत्पादन हुने समय असोज महिनामा पर्यटकीय चहलपहल हुने भएकाले यहाँको कुल उत्पादनको २५ प्रतिशत स्याउ जिल्लामै खपत हुने गर्छ । बाँकी उत्पादित ७५ प्रतिशत स्याउ जिल्ला भित्र र जिल्ला बाहिरका स्याउ ब्यापारीले बगैचा ठेक्का गरी पोखरा—काठमान्डौं लगायतका बजारमा पू¥याएर बिक्री गर्ने गर्छन ।

साभार emustangnews

विश्वका घुम्नै पर्ने २३ गन्तव्यकाे सूचिमा ‘मुस्ताङ’

मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचीन कालदेखि नै ट्रेकिङ ट्रेलकाे रूपमा प्रयाेग हुँदै आएकाे मुस्ताङ  हिमाल पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’

image

अमेरिकी समाचारमाध्यम ‘केवल न्यूज नेटवर्क‘ (सीएनएन) र चर्चित बेलायती ट्राभल म्यागेजिन ‘काेन्डे नास्ट ट्राभलर’ले सन् २०२३ मा घुम्नै पर्ने विश्वका २३ गन्तव्यहरूकाे सूचिमा नेपालकाे मुस्ताङलाई पनि समावेश गरेका छन् ।

सीएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचीन कालदेखि नै ट्रेकिङ ट्रेलकाे रूपमा प्रयाेग हुँदै आएकाे मुस्ताङ  हिमाल पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’

मुक्तिनाथ मन्दिर र १०८ धाराबारे थाहा पाउनुहोस् एतेहासिक कुरा

वासुदेव पौडेल/नीरज थकाली। कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो ।   विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ । यस समयमा प्रत्येक वर्ष देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् ।   प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको भए पनि दुई वर्षयता कोरोना कहरका कारण यहाँ पर्यटकको आवागमन प्रभावित भएको छ ।   सङ्क्रमणको जोखिमका कारण गत वैशाखदेखि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाई बन्द गरिएको मन्दिर यही असोज १० गतेदेखि खुल्ला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै दर्शनार्थीको चहलपहल बढ्दै गएको जनाउँदै उहाँले सोह्र श्राद्धका बाँकी तिथिका साथै औँसीका दिनमा दर्शनार्थीको चाप बढ्ने जानकारी दिनुभयो ।   

   मुक्तिनाथमा दर्शनार्थीको चाप बढेसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले गति लिएको छ ।दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्ने गर्दथे ।   ठाउँठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे । चार दशकअघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । पछिल्ला वर्षमा भने मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् ।   यहाँ रहेको रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएछ ।   सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो । त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो ।   रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ । तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्दथे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले ।   धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको मुक्तिनाथ गाउँका पूर्वमुखिया एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डै २०३२/३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेको र यहाँ भेडाबाख्राका गोठ थिए । पछिल्ला वर्षमा विदेसिएका युवा फर्केर यहीँ होटल व्यवसाय सञ्चालन गर्न लागेका छन् । 

मुक्तिनाथ मन्दिरको दर्शनले मोक्ष प्राप्ति हुने विश्वास

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल हो । हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित उक्त मन्दिर समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा रहेको छ हिन्दूहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन् ।

पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरु छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वाश जन्मानसमा छ । बडा दसैंं र चैत्र दसैंंमा मेला लाग्ने गर्छ । मन्दिरको ठीक अगाडि दुई वटा पोखरी (कुन्ड)छन् । एकतर्फी धर्म कुन्ड र अर्कोतर्फी पाप कुन्ड छ । यहाँ अन्य मन्दिरहरु आसपासमा रहेको छ ।

मुक्तिनाथ वैष्णव सम्प्रदायको प्रमुख मन्दिरहरू मध्ये एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध छ । शालिग्राम पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुज्ने गरिन्छ । उक्त शिला मुख्य गरी कालिगण्डकी नदीमा पाइन्छ । मुक्तिनाथ मन्दिर रहेको ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।

हिन्दु धार्मिक मान्यता अनुसार मुक्तिनाथ यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी तिर्थ गर्नका लागि जाने गर्दछन् । यो मन्दिर हिन्दु धर्मको दुर्गम तिर्थस्थलमा पर्छ ।
मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक हो । दिव्य देश वैष्णवहरूको पवित्र मन्दिर हो । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्मबाट भएको थियो ।

पौराणिक मान्यता अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ । जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान विष्णुले उनको मद्दत गरेका थिए । जबसम्म असुर जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन् । तबसम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । त्यो अवस्थामा भगवान विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गर्ने काममा सफल भएका थिए । जब वृन्दाले थाहा पाइन् त्यो बेलासम्म भगवान शिवले जालन्धरलाई मारिसकेका थिए ।

वृन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्य हुन् ति विष्णुले भगवान शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको धार्मिक मान्यता छ ।
किम्वदन्ती अनुसार मुक्तिक्षेत्रमा मोक्ष प्राप्ति हुन्छ । त्यस ठाउँमा भगवान विष्णु शालिग्राम शिलामा निवास गर्दछन् । मन्दिरको बाटो भएर उत्तरीपश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार प्रसारका लागी तिब्बत गएका थिए भन्ने जनविश्वास छ ।
वि.सं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरिएको थियो । मुक्तिनाथको पूजापछी लामो समयसम्म चलेको गृहयुद्धबाट नेपालले मुक्ति पाएको थियो ।

-धार्मिक ग्रन्थको सहयोगमा

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् ।

लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउँछन् ।

‘उपल्लो मुस्ताङ पर्यटकका लागि भर्जिन एरिया’हो । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए’, उनले भने, ‘अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायी पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको हो ।’

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमै अवस्थित छ ।

करोडौँ लगानीमा खुलेका होटल सुनसान

निषेधित क्षेत्रका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । बिदा र चाडपर्वको समयमा घुम्न आउने नेपालीले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ ।

लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय पर्यटक बास बस्न सक्ने क्षमता छ । धेरैजसो होटल सधैँ रित्ता हुने मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताए। पर्यटक आगमन कम हुँदा उपल्लो मुस्ताङमा रहेका ७० वटा होटलका सञ्चालक समस्यामा परेका छन् ।

एउटा होटल स्थापनाका लागि सरदर रु तीन करोड ५० लाख लगानी भएको लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङले बताए ।

दैनिक एक हजार पाँच सय पर्यटक बस्न सक्ने होलटको क्षमता भए पनि वार्षिक तीन हजार जनाको हाराहारीमा मात्र पर्यटक पुग्ने गर्छन् । विदेशीको तुलनामा केही बढी नेपाली उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरूको आधिकारिक तथ्याङ्क छैन ।

अर्धनिषेधित क्षेत्र र महँगो शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासका लागि तगारो बनेको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्यसमेत रहेका व्यवसायी लाक्पा वाङ्दी गुरुङले बताए । ‘पर्यटक आगमनलाई सहज बनाउन सकेमा राज्य, व्यवसायी र समुदायलाई पनि फाइदा पुग्ने थियो’, उनले भने ‘अर्धनिषेधित क्षेत्रका कारण युवायुवतीहरू व्यवसाय छाडेर विदेश पलायन हुने क्रम बढेको छ ।’

दश दिन घुम्न पाँच सय डलर शुल्क

चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सुरक्षा संवेदनशीलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको हो । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) गर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ ।

लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङभन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

वार्षिक तीन हजार पर्यटक

सन् २०२३ मा ७० देशका तीन हजार ४ सय ८४ जना विदेशी नागरिकले भ्रमण गरेको उपल्लो मुस्ताङमा सन् २०२४ मा पनि सोही सङ्ख्याकै अनुपातमा पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए ।

सन् २०२२ मा तीन हजार एक सय १२, २०२१ मा ३३२, २०२० मा ६२ र सन् २०१९ मा ३ हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी ४ हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

तथ्याङ्कअनुसार मुस्ताङ भित्रने कुल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जाँदैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ ।

सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए ।

निषेधित क्षेत्र हटाउन माग

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए । ‘उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ’, उनले भने, ‘शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत सबैजसो गृहमन्त्रीलाई भेटेर अर्धनिषेधित क्षेत्र हटाउन माग गरिएको अध्यक्ष गुरुङले बताए ।

उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउने यहाँको पछिल्लो समयको राजनीतिक मुद्दा बनेको छ । चीनको सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाएर अर्धनिषेधित क्षेत्र हटाउनुपर्ने मुस्ताङका सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।

अर्धनिषेधित क्षेत्र हटाउन नसकेको अवस्थामा प्रवेश शुल्क घटाउनुपर्ने, छिमेकी चीन, भारत र सार्क राष्ट्रका पर्यटकलाई सहुलियत दिनुपर्ने विकल्प पनि उनीहरूले अघि सारेका छन् । अर्धनिषेधित क्षेत्रका बासिन्दाले आफूहरूमाथि एउटै देशमा दुईथरि कानुन लागू भएको गुनासो गर्छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ र वडा नं ५ साङ्ताका बासिन्दा अर्धनिषेधित क्षेत्र भए पनि सोअनुसार राज्यले उपलब्ध गराउने सेवासुविधाबाट वञ्चित हुनुपर्दा दोहोरो मर्कामा परेका छुसाङका वडाध्यक्ष विनोद गुरुङले बताए ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली)ले सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाउँदै निषेधित क्षेत्र हटाउन आवश्यक ऐन, कानुन संशोधनको प्रक्रियामा रहेको बताए । ‘जिल्ला तहबाट आएको सिफारिसअनुसार गृह मन्त्रालयले अध्यागमन विभागमार्फत राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायसँग राय–सुझाव मागेको छ’, उनले भने, ‘गृहमन्त्री रमेश लेखकसँग बिहीबार भएको भेटमा पनि अर्धनिषेधित क्षेत्र हटाउने विषयमा ध्यानाकर्षण गराएको छु ।’

मन्त्रालयले पहिलो चरणमा वारागुङ मुक्तिक्षेत्रको छुसाङ र साङ्ताको अर्धनिषेधित क्षेत्रलाई आंशिक खुलाउने तयारी गरेको जानकारी दिँदै गौचनले अर्को चरणमा लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको निषेधित क्षेत्र हटाउने अथवा आंशिक हटाउने भन्ने निर्णय हुने प्रतिक्रिया पाएको बताए ।

– राससबाट