वासुदेव पौडेल/नीरज थकाली। कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो । विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ । यस समयमा प्रत्येक वर्ष देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् । प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको भए पनि दुई वर्षयता कोरोना कहरका कारण यहाँ पर्यटकको आवागमन प्रभावित भएको छ । सङ्क्रमणको जोखिमका कारण गत वैशाखदेखि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाई बन्द गरिएको मन्दिर यही असोज १० गतेदेखि खुल्ला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै दर्शनार्थीको चहलपहल बढ्दै गएको जनाउँदै उहाँले सोह्र श्राद्धका बाँकी तिथिका साथै औँसीका दिनमा दर्शनार्थीको चाप बढ्ने जानकारी दिनुभयो ।

मुक्तिनाथमा दर्शनार्थीको चाप बढेसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले गति लिएको छ ।दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्ने गर्दथे । ठाउँठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे । चार दशकअघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । पछिल्ला वर्षमा भने मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् । यहाँ रहेको रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएछ । सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो । त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो । रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ । तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्दथे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले । धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको मुक्तिनाथ गाउँका पूर्वमुखिया एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डै २०३२/३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेको र यहाँ भेडाबाख्राका गोठ थिए । पछिल्ला वर्षमा विदेसिएका युवा फर्केर यहीँ होटल व्यवसाय सञ्चालन गर्न लागेका छन् ।
Took this boat tour together with the whole family and we were fully satisfied. Thank you!
Tour is very good organized and guides are very friendly and acknowledged. All the question we had were fully answered by our tour guide. Kids and adults were satisfied 🙂
Great tour, fully recommend!