जोमसोम—धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दसै पर्व सकिएसंगै पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । दसै पर्वमा मान्यजनबााट टीका थाप्ने कार्यक्रम सकिएलगत्तै आईतबारदेखि मुस्ताङमा पर्यटकीय गतिविधि अप्रत्याशित रुपमा वृद्धि भएको पाईएको छ ।
बडा दसैको पछिल्लोदिन आईतबारदेखि मुस्ताङमा स्वदेशी तथा आन्तरिक पर्यटकको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दशै पर्व अवधिमा सरकारी कार्यालय,निजी संघसंस्था, बैंक तथा वित्तिय संस्था ,स्कुल कलेज र विदेशबाट दसै पर्व मनाउन घर फर्किएकाहरुलाई लामो बिदा हुने भएकाले मुस्ताङमा पर्यटकीय चहलपहल बढेको हो । यस अवधिमा युवायुवतीहरुमा मुस्ताङ घुम्ने क्रेज बढेको हो । दसै पर्वको पछिल्लो २ दिनमा म्याग्दी र मुस्ताङको सिमाना घाँसा हुँदै कुल ५ हजार ८९८ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार विजया दशमीको घटनास्थापनादेखि सोमबारसम्ममा कुल १५ हजार ५४४ जना पर्यटक सडकमार्ग हुदै मुस्ताङ भित्रिएको प्रहरी नायव उपरीक्षक बोगटीले बताए । घटनास्थापनादेखि पछिल्लो १२ दिनको अवधिमा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएकोमा दैनिक औसत तुलना गर्दा करिव १९ प्रतिशतको हाराहारीमा मुस्ताङमा पर्यटकको आगमन वृद्धि भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङमा दसैपछिको २ दिनको अवधिमा ५ हजार ३२७ जना आन्तरिक र ५७१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन । त्यसो त घटनास्थापनादेखिको तथ्यांक हेर्दा मुस्ताङमा १२ हजार ४९२ जना आन्तरिक र ३ हजार ५२ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
यसअघि बडा दसै पर्व अघिको सोह्र श्राद्ध तिथीमा २० हजार ४४६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । सोह्र श्राद्धको १६ दिनको अवधिमा कुल संख्याको १४ हजार ८५० जना आन्तरिक र ५ हजार ५९६ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका घाँसा प्रहरी चौकीको रेकर्डमा उल्लेख छ । मुस्ताङमा हवाई पोखरा जोमसोम हवाई सेवा मार्फत पनि पर्यटक मुस्ताङ आउने गरेको भएपनि उनीहरुको रेकर्ड यसमा उल्लेख छैन । सेप्टेम्बर अन्तिमदेखि मुस्ताङमा हवाई सेवा मार्फत पनि उल्लेख विदेशी पर्यटकको मुस्ताङ आगमन बढेको छ ।
दसै पर्वको फुर्सदिलो बिदाको समयलाई सदुपयोग गर्दै मुस्ताङ घुम्ने युवापंक्तीको संख्या अपेक्षाकृत वृद्धि भईरहेको जोमसोमका पर्यटन व्यवसायीहरुको भनाई छ । बेनी—जोमसोम सडकमार्ग हुदै निजी,हरियो र सार्वजनिक सवारी साधन मार्फत पर्यटक मुस्ताङ भित्रिएका हुन् । कतिपय युवायुवतीहरु दसैपछि मोटरसाईकल चढेर मुस्ताङ घुम्न आएको होटल मेजस्टीका प्रोपाईटर निसान तुलाचनले जानकारी दिए । दसैपर्वपछि मुस्ताङ भ्रमण गर्नेमा अधिकाँश पर्यटक युवापुस्ताका पर्यटक रहेको पर्यटन व्यवसायी तुलाचनले उल्लेख गरे ।
मुस्ताङ भ्रमण गर्ने अनुकुल समय र सडक संञ्जाल सहज भईसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो । पर्यटन व्यवसायीहरुका अनुसार दसैपछि छठ पर्वको अन्तिमसम्म युवापुस्ताहरु मुस्ताङ घुम्न आउने बताईएको छ । मुस्ताङको पृथक भूगोल ,धार्मिक ,ऐतिहाँसिक र सांस्कृतिक एवं जिवन्त मौलिकता भएकै कारण यसस्थानमा आन्तरिक तथा बाह्य पर्यटकको क्रेज बढ्दो छ । पछिल्लो समय अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले मुस्ताङलाई घुम्नैपर्ने पर्यटकीय सूचिमा सुचिकृत गरेसंगै मुस्ताङ जिल्लाको क्रेज बढेको हो ।
मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरुले सडक सहज भएसंगै चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् । विदेश पर्यटक भने छोसेरको नेचुङसम्म पुग्छन् । कोरलानाका ,छोसेर गुफा,लोमान्थाङ दरबार, लोघेकर गुम्बा,मुक्तिनाथ,कागबेनी ,ढुम्बाताल लगायत विभिन्न पर्यटकीय गन्तब्यहरु मुस्ताङमा अवस्थित रहेकाले मुस्ताङमा पर्यटकहरुको क्रेज मुस्ताङमा बढेको हो । राष्ट्रिय गौरवको सडक अन्तर्गत मुस्ताङमा एक तिहाई सडक कालोपत्रे भईसकेकाले पनि मुस्ताङ यात्रा पर्यटकका लागि सहज बनेको छ ।
औसत बर्सेनि ५ लाख भन्दा बढी आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्छन।यस्तै बर्सेनि १ लाख २० हजार भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । मुस्ताङ भ्रमण गर्ने अघिकांश पर्यटकहरु मुक्तिनाथको दर्शन गरी फर्किन्छन् । युवापंक्ती पर्यटक भने मुस्ताङको विभिन्न पर्यटकीय गन्तब्यहरु अवलोकन गर्न रुचाउँछन् ।